कतार, नेपाली र नेपाल चोक

  गजेन्द्र खालिङ राई  485 पटक हेरिएको


कतार । नेपालीको रोजाइमा परेको वैदेशिक रोजगारीको गन्तव्य । मध्य–पूर्वी देश कतारमा ४ लाख ६० हजारभन्दा धेरै नेपाली छन् । त्यसमध्ये पनि धेरैजसो पुरुष छन् भने महिला कम ।

विश्वको अत्यन्तै सानो देशमध्ये कतार पनि एक हो । तर, रोजगारीका लागि भने आकर्षक गन्तव्य मानिन्छ । त्यसैले कतारमा कतारीभन्दा बाहिरका मानिस धेरै छन् । यहाँ सबैभन्दा धेरै भारतीय छन् । त्यसपछि क्रमशः बंगाली, फिलिपिन्स, पाकिस्तान र नेपाली पर्छन् । त्यसो त युरोप र अमेरिकालगायत संसारकै मानिस यहाँ विभिन्न सिलसिलामा बसोवास गर्छन् ।

आफू र आफ्नो परिवार पाल्न, जीवन स्तर उकास्नकै लागि कतार धेरैको रोजाइमा परेको भन्ने नेपाली छन् । लेबरदेखि यहाँका उच्च ओहदासम्ममा रहेर कार्यरत नेपाली छन् । देश सानो भए पनि लाखौंलाई रोजगारी दिन सफल छ– कतार ।

कतारले केही समयअघि विश्वकप–२०२२ सम्पन्न गरेको थियो । विश्वकप सम्पन्न गर्न नेपाल र नेपालीको त्यत्तिकै योगदान रहेको थियो । आयोजक कतारले विश्वकप सम्पन्न गर्न निर्माण गरेको अधिकांश भौतिक संरचनामा नेपालीको पसिना नबगेको ठाउँ थिएन । कतिपय नेपालीले त ज्यानै गुमाए । कतार सरकारले नेपाल र नेपालीको उत्तिकै प्रशंसा र त्यत्तिकै विश्वास गर्छन् ।

कतार पहिलेभन्दा धेरै खुला छ । र, विकसित पनि । नेपालीलगायत रोजगारीका लागि अन्य देशबाट आएकाले यतै रमाएर बसेका छन । कतिपय नेपाली २०/२२ वर्षदेखि यतै भुलिएका छन् । कतारमा रहेका नेपालीले सप्ताहन्त मनाउन कतारका विभिन्न ठाउँलाई रोजेका हुन्छन् । नेपाली–नेपालीबीच भेटघाटका लागि निश्चित ठाउँ चोक या पार्क तोकेका हुन्छन् । जहाँ पुग्दा नेपाली भेटिइन्छन् । एकताका कतारको राजधानी दोहामा नेपाली भेटिइने ठाउँलाई ‘नेपाल चोक’ भनिन्थ्यो । हिजोआज तरवार गेट प्रख्यात छ । जहाँ नेपाली–नेपालीबीच बाक्लै भेटघाट हुन्छ ।

विशेषगरी लेबर बस्तीनजिक ग्रेन मल, अल अलतियामा नेपाली त्यत्तिकै भेटिन्छन् । परिवारसहित घुमघामका लागि मुन्तजा पार्क, कर्नेस, मिया पार्क, कतरा, लुसेल प्रसिद्ध छन् । उल्लिखित ठाउँमा नेपाली र उनीहरूसम्बद्ध संघ संस्थाका सदस्य सामूहिक भेटघाट गरी सरसल्लाह, छलफल गर्छन् । संस्थाले गर्ने भावी योजना बनाउँछन् । त्यसरी नै अघि बढ्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार