कतारमा पनि लाजेहाङ शोकसभा

  गजेन्द्र खालिङ राई  337 पटक हेरिएको

कतार । यहाँको एसियन टाउनस्थित ह्वाइट हाउस होटलको सभाहलमा संघीय लिम्बुवान सामाजिक मञ्च कतारले पदमबहादुर लिम्बू (लाजेहाङ)को शोकसभा मनाएको छ ।

२०७९ चैत ५ गते प्रदेश १ का प्रदेश सभाले कोशी प्रदेश नामकरण छापामार शैलीमा गरेपछि पहिचानवादी राजनीति दल, नेपाल आदिवासी जनजाती महांसघ तथा विभिन्न पहिचानवादी घटक नामांकन संयुक्त संघर्ष समितिद्वारा गरेको आन्दोलनले कोशी प्रदेशको नाम खारेजीको माग गर्दै शान्तिपूर्ण जनप्रर्दशनलाई प्रवेश निषेध गरी काँढेतारबार गरी रोक्ने प्रयास गरिएको थियो । शान्तिपूर्ण आन्दोलनलाई नरोक्न आग्रह गर्दै घेराबार तोड्नेक्रममा आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा प्रहरीको लाठी प्रहारबाट पहिचानवादी नेता लाजेहाङको टाउकोमा गम्भीर चोट लागी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारक्रममा २०७९ चैत १० गते राति २ः३० मा मृत्युवरण भएको थियो ।

श्रद्धाञ्जली शोक सभा कार्यक्रममा पहिचानवादी शुभेच्छुक तथा शुभचिन्तकको बाक्लो उपस्तिथि रहेको थियो भने संघीय लिम्बुवान सामाजिक मञ्चका वरिष्ठ उपाध्यक्ष डम्बर लुङ्खिम मिसेकले सहिद लाजेहाङको पृष्ठभूमिलाई प्रस्ट पारिदिनुभएको थियो । मिसेकले उहाँ सामाजिक रूपमा पनि उत्तिकै अग्रसर रहनुभएको र संघीय लिम्बुवान केन्द्रीयय सचिवाल सदस्यसमेत रहनुभएको र लाजेहाङ लिम्बू आफ्नो अस्तित्व र पहिचानका निम्ति लड्दै गर्दा ज्यानै बलिदान दिएर सहिद भएको बताउनुभयो ।

यसै सन्दर्भमा कुनै पनि हालत कोशी प्रदेश मान्य नहुने बताउँदै कोशी हैन, त्यो कौशिक हुँदै यो नाम भारतीय डिजाइनको नामबाट कोशी राखिएको पनि मिसेकले प्रस्ट पार्नु भयो ।

उपस्थित बुद्धिजीवी वैचारिक संस्थाका पदाधिकारी तथा समाजसेवीलगायत पहिचानवादीले आफ्नो भनाइ राख्नेक्रममा संस्कृति पहिचानवादी अभियन्ता गजेन्द्र खालिङले पनि श्रद्धाञ्जली शोकसभामा बोल्दै पहिचानवादीका माग र आन्दोलनलाई राज्यले बेवास्ता गर्दै आएको बताउँदै अब कुनै पनि हालतमा यो आन्दोलन रोक्न नहुने भन्दै आन्दोलन प्रदेश १ वासीको मात्र नभई, सातवटा प्रदेशवासी पहिचानवादीहरूको साझा रहेको बताउनुभयो । राई, लिम्बूको मात्रै यो आन्दोलन हो भनी नबुभिदिनुहुन पनि आग्रह गर्नुहुँदै सामाजिक सञ्जालमा समेत राई/लिम्बूबीच हुने कुनै पनि विवादास्पद टीकाटिप्पणी नगर्न साथै कतारमा पनि यस आन्दोलनलाई थप सशक्त पार्न संयुक्त संघर्ष समिति बनाएर अगाडि बड्न अनुरोध गरे ।

महासंघ कतारका कोषाध्यक्ष तेन्जी शेर्पाले पनि शोकसभामा बोल्दै कोशी नाम स्वीकार्य नहुने बताउँदै १ नम्बर प्रदेश नाम लिएर जान पनि अनुरोध गर्नुभयो ।

किराया कतारका अध्यक्ष शंकर राईले पनि उहाँको धारणा राख्नुहुँदै कुनै पनि हालतमा कोशी नाम मान्य नहुने बताए भने सम्पूर्ण पहिचानवादी एक हुनुपर्ने बताउनुभयो ।

पहिचानवादी अभियन्ता युवा नेता योगेन्द्र तमाङले पनि बोल्दै कौशिक ऋषिमुनिको नाममा राखिएको कोशी प्रदेश कुनै पनि हालतमा स्वीकार गर्न नसक्ने बताउनुभयो ।

एनआरएनए एनसीसी कतारका वरिष्ठ उपाध्यक्ष जैबी चाम्लिङले आफ्नो भनाइ राख्नेक्रममा हरेक आन्दोलनमा प्रदेश नम्बर १ को महत्वपूर्ण भूमिका रहेको बताउदै २००७ सालको तत्कालीन राणा शासन अन्त्य गर्न पनि प्रदेश नम्बर १ बाट क्रान्ति सुरु भएको स्मरण गराउँदै नामकरण हेरफेर हुन सक्लान् तर पहिचानको क्रान्तिका लागि आगो सल्सिसकेको बताए ।

शोकसभामा संखुवासभानिवासी समाजसेवी साथै पहिचानवादी जोहेब लामाले पनि म तमाङको छोरो भए पनि पहिचानका निम्ति जस्तोसुकै परिस्थितिमा उभिँदै सामना गर्ने जनाउँदै सहिद पदम लाजेहाङ लिम्बूको परिवारलाई आर्थिक सहयोग ५१ हजार घोषणा गर्दै संघीय लिम्बुवान सामाजिक मञ्चका अध्यक्ष रेखा राईलाई हस्तान्तरण गर्नुभयो ।

संघीय समाजिक मञ्च कतारका अध्यक्ष तथा शोक सभाका सभापति रेखा खाम्सामा राईले श्रद्धाञ्जली कार्यक्रममा आफ्नो भनाइ राख्नेक्रममा नश्लवादी चिन्तन सरकारको कारणले अहिले प्रदेश नम्बर १ मा दिनानुदिन आक्रान्त बनेको धारणा राख्नुभयो । आगामी दिनहरूमा कतारमा व्यवसाय तथा रोजगारीका सिलसिलामा कतार आइपुगेका पहिचानवादी शुभेच्छुक तथा शुभचिन्तकहरू एकठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो । नेपालमा जारी आन्दोलनलाई भौतिक रूपमा उपस्थित हुन नसके पनि नैतिक, सामाजिक, आर्थिक, रूपमा सहयोग गर्न उपस्थित सम्पूर्णलाई आग्रहसमेत गर्दै शोकसभा सकिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार