पञ्चासेमा सुनाखरी पदयात्रा

  सगरमाथामेल संवाददाता  103 पटक हेरिएको


कास्की । जिल्लाको अन्नपूर्ण गाउँपालिकास्थित धार्मिक तथा पर्यटकीय गन्तव्य पञ्चासेमा नेपाली नयाँ वर्ष २०८० को पहिलो दिन सुनाखरी पदयात्रा हुने भएको छ ।

पञ्चासेको पर्यापर्यटन प्रवद्र्धन, घरवास (होमस्टे)को प्रचारप्रसार एवं सुनाखरीलगायत जैविक विविधता सम्वद्र्धनमा टेवा पुर्याउने लक्ष्यका साथ पदयात्रा आयोजना गरिएको हो । पञ्चासे क्षेत्रको पाँच हजार सात सय हेक्टर वनजङ्गलमा पाइने एक सय ४७ प्रजातिको सुनाखरीलगायत जैविक विविधताको प्रचारप्रसारसँगै यसको संरक्षणका लागि जनस्तरमा सचेतना अभिवृद्धि एवं सन्देश प्रवाह गर्नु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष आइन्दल गुरुङले जानकारी दिनुभयो ।

भदौरे पञ्चासे पदमार्गको मूलद्वारबाट सुरु हुने पदयात्राले यो क्षेत्र पर्यापर्यटन अध्ययनको खुला विश्वविद्यालय रहेको सन्देश दिने र यसका माध्यमबाट हजारौँ आन्तरिक पर्यटकलाई पञ्चासे अवलोकनका लागि आकर्षण गर्ने विश्वास लिइएको छ ।

उक्त दिन प्रदेश सरकारको सहयोगमा निर्मित पञ्चासेको छायाचित्रका रुपमा रहेको पञ्चासे जैविक विविधता पार्क समुद्घाटन गरिने पञ्चासे इको टुरिजम प्रालिले जनाएको छ । पर्यावरणमैत्री ढङ्गले निर्मित पार्कको प्रारम्भिक काम सम्पन्न भएको र आगामी दिनमा ५० रोपनी क्षेत्रफलमा निर्माण कार्य सम्पन्न गरिने पार्क निर्माण समितिका अध्यक्ष नवराज पौडेलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार