के–के व्यवसाय गर्छन्, कोही–कोही मान्छेहरू
जो बाँचिरहेछन् डिजिटल जिन्दगीका आयुहरू
जो तिरिरहेछन् सहजै, निरन्तर
स्मार्ट जिन्दगीका किस्ताहरू ।
हामी बिचरालाई त
खुसी – मीठो एक छाक लाग्छ
सुख – बाँचिएकै छ जसरी
दुःख – टारिदिन्छौ पाहुनाजस्तै
हाँसो – लाग्छ क्षणमै फेरिइरहने सरकारजस्तै
आँसु – ठान्छौं हरपलका साथी
जो, सामान्य धूलो पस्दा
अक्सर बग्ने गर्छ हामीसँगै
हाम्रा अगणितीय तुहिएका सपनाहरूलाई बगाउँदै ।
कर्म – जीवनलाई अभावहरूका प्याला मेट्ने लक्ष्य मान्दै
त्यसैलाई हामी जिउनुको महान् उदेश्य ठान्छौं
परिश्रम, कर्म र हाम्रो पारिश्रमिकचाहिँ
फगत श्रमको अवमूल्यनमात्रै हो
जुन घाटामै रहनेछ कालान्तरसम्मै
शरीर – चेतनाको घोडा अनि आत्मा, मस्तिष्क
र अंगहरूबाट चलायमान मेसिन भएजस्तै
लाग्छ– जीवन पनि त आमाको वात्सल्यबाट लिएको
श्वासप्रश्वास चलुन्जेलको एग्रिमेन्ट लोन हो ।
अनि मृत्यु !
मृत्यु त जीवनको अन्तिम सत्य हो,
मृत्यु त जीवनको निर्वाणिक पथ हो,
मृत्यु त हामी सबैको मुक्ति हो,
जसबाट भागेर
हामी कुनै परलोकमा लुक्न सक्दैनौं
र नै त अझै हामी त्यही होमो दुनियाँमै छौं ।
हामीलाई खुसी – मरेर दुई छाक टार्दा लाग्छ
सुख – केएफसीको पिज्जा, बर्गरभन्दा स्वादिष्ट लाग्छ
अन्य….
दुःख, हाँसो, आँसु, कर्म, परिश्रम
यी सम्पूर्ण हाम्रो जीवनपर्यन्त उपलब्धि लाग्छ
हाम्रो शरीर, चेतना, सम्पूर्ण अंग–प्रत्यंग
सुस्तरी प्राचीन हुँदै गइरहेको किप्याड फोनजस्तै लाग्छ
जहाँ आगतको प्रविधिजस्तो
एउटा टच स्क्रिनमा दुनियाँ देख्न सक्दैनौं
त्यसैले कहिलेकाहीं प्रश्न सोध्ने जाँगर चल्छ
कि……..
के–के कर्म गर्छन् कोही–कोही मान्छेहरू
जो बाँचिरहेछन् डिजिटल जिन्दगीका आयुहरू
जो तिरिरहेछन् सहजै, निरन्तर
सबैबाट उन्मुक्त भएर
डिजिटल स्मार्ट जिन्दगीका किस्ताहरू ।
साझा बस्ती, खोटाङ ।