मेरी सानु !
यो निकै दशकअघिको कुरा हो
त्यो बेला तिमी अबोध नै थियौ ।
तिमीलाई लिएर हामी दुवैजना
हलेसी महादेवको दर्शन गर्न
गएका थियौं ।
रमाइलो धाम हलेसी
पूजा, भाकल सबै सकेर,
हामी बाहिर निस्कियौं
ठ्याक्कै त्यै बेला ओखलढुंगाको
तिम्रो बाबाको मामाको छोरा
भेटिनुभयो ।
के खोज्छस् कानो ? आँखो
भनेजस्तै भयो त्यहाँ तिम्रो बाबालाई
भीडमा हामी आमा छोरीलाई
सम्हाल्दै हिँड्न गाह्रो परेको बेला
चटक्कै हामीलाई छाडेर– तिम्रो बाबा
दाजुभाइ हाँस्तै हात समाएर घुम्न थाले
मैले पनि तिमीलाई
बिरालोले छाउरो बोकेझैं
बोकेर घुम्न थालें
तिमीलाई कहिले घिस्याएँ ।
कहिले बाबाको रिस
तिमीलाई नै खन्याउँछु ।
अबोध छौ तिमी के बुझ्नु कुरा !
भीडमा ठेलमठेल गर्दै
चुरापसलमा पुगें
तिमीलाई पनि बज्ने चुरी
हातभरि लगाइदिएँ र मैले पनि
मलाई तिम्रो बाबाले
त्यसरी छोडेर हिँड्दा मनभरिभरि
रिस उम्लिरहेको थियो ।
त्यो पोख्न नपाएर तिमीलाई पोखेकी थिएँ ।
धन्य भगवान् !
तिमी कुरा बुझ्न सक्ने नै थिइनौ ।
त्यहाँ राम्राराम्रा राडीपाखी
र सुन्दर गलैंचाहरू देखें
भएभरका पैसा मैले
साँच्चै यसैमा सकिदिएँ
आनन्द भयो मलाई त्यो बेला ।
तिमी भने भन्न थाल्यौ
मलाई हजुरबुवाको धेरै माया लाग्छ ।
म उहाँका लागि केही गर्न सक्तिनँ
तमाखु बनाउने यो सुर्ती म दिन्छु
आमा ! यो पोको किनिदिनुहोस् ।
नानु ! सबै पैसा सकियो
अब केही किन्न सकिन्न
बाबा आएपछि सुन्तला खाउँला ।
नाइँ आमा ! मलाई खान मन छैन ।
मेरो थैलीमा पैसा छ
यही पैसाको म सुर्ती किन्छु,
मेरो प्यारो हजुरबुवालाई
म यो उपहार लान्छु ।
सानुको थैलीको पैसाले
पूरा एक धार्नी सुर्ती आयो,
सानु दंग परी र भनी
आज मैले ठूलै राज्य जितें
यत्रो धेरै सुर्ती किन्न सकें ।
कसैले मेरो हजुरबुवालाई माया गर्दैनन्
म संसारभरिको माया बटुलेर
उहाँलाई दिन्छु, साँच्चै दिन्छु ।
मेरो हजुरबुवा म तपाईंकी नातिनी
सधैं माया गर्छु तपाईंलाई पैसा त हजुरबुवाले ।
टीका लगाउँदा पाएको थिएँ,
सुर्ती मेरो मनको मायाले किन्यो ।
नानु तिमीजस्तै भोलि आउने बहिनीहरूले
माया गरी हजुरबुवालाई तमाखु खान
नटुटाइदिऊन् सधैं बूढा बाबाले खाइरहून्
सधैं तिम्रो हजुरबुवाहरू जन्मिरहनुहुन्छ
तिमीहरू पनि सधैं सानो मन बोकेर
पानी बगेझैं आइरहन्छौ ।
यो कुरा सबैले सम्झ है ।
मेरा बहिनीहरू यो धाममा
सधैं साना भएर आउनू
आफ्ना प्यारा हजुरबुवालाई
पहिलेको तमाखुजस्तै समयको
खाने प्रिय चीजहरू
यहाँबाट किनेर लिएर जानू ।
हाम्रो यो ठूलो धाम हलेसी अटल अमर छ
सधैं–सधैं यो नदी बगेझैं हामी पनि ।
आफ्नो हजुरबुवाका लागि मिष्ठान्न
चीजहरू बोकेर लगिरहूँ दिइरहूँ ।
दिइरहूँ यही मेरो कामना छ ।