साकेलाको समाजशास्त्र

  मूलघरे कान्छा (राजेन खिम्बूले राई)  299 पटक हेरिएको

नेपालको सबैभन्दा प्राचीन सभ्यता नै किराँत सभ्यता हो। यो संसारको सबैभन्दा प्राचीन सभ्यतामध्ये एक विशाल किराँत सभ्यता भारतीय उपमहाद्वीपमा अवस्थित थियो । आदिम प्रागैतिहासिक काल अघिदेखि नै प्राचीन नेपालवरपरको क्षेत्रमा किराँतीहरुले विचरण भूमि बनाएका थिए ।
किराँतीहरुको मुन्दुमअनुसार तयामा, खियामा र हेत्छाकुप्पाले यही नेपालको भूमि हाल खोटाङको तुवाचुङमा जंगलीयुग, शिकारीयुग पार गर्दै कृषियुगको शुभारम्भ गरेको वर्णन पाइन्छ । नेपालको पहिलो राजा यलम्बर हाङको इतिहासबाट र किराँत सभ्यताबाट नै नेपालको इतिहासको सुरुआत हुने गर्दछ । नेपाल राष्ट्र त्यति नै प्राचीन राष्ट्र हो जति किराँत सभ्यता प्राचीन छ ।
किराँत सभ्यताको किराँतीहरुले प्राचीन किराँतकालमा अपनाएको धर्म संस्कार संस्कृतिबाट नै नेपालको सभ्यता धर्म संस्कृतिको सुरुआत भएको हो । तसर्थ नेपालमा किराँतीहरुले मनाउने धर्म संस्कृति र उधौली-उभौली साकेला जस्ता चाडहरु किराँतको मात्र होइन सिंगो नेपाल राष्ट्र र नेपालीहरुकै मौलिक संस्कृति र चाडहरु हुन् । किराँतीहरुले मनाउने उधौली, उभौली, साकेला जस्ता चाडहरु नेपालको प्राचीन मौलिक राष्ट्रिय चाडहरु नै हुन् ।
नेपालको सबैभन्दा प्राचीन किराँत सभ्यताको मानिसहरुले मुख्यतः दुईवटा किराँत ऋतुहरु उभौली (दोङवाङा-धिरीनाम) वैशाखे पूर्णे र उधौली (दोङ्दावा-छिरीनाम) मंसिरे पूर्णेलाई आधार मानेर किराँत सभ्यताको विकासको क्रममा प्राचीनकालदेखि मनाउँदै आएको आफ्नो मुन्दुमी सांस्कृतिक चाडलाई भाषागत, भौगौलिक रुपमा विभिन्न नाम दिएर (किराँत राई=साकेला,साकेन्वा,साक्खेवा/तोसी/साकेल,किराँत लिम्बू=यक्वा तङ्नाम,किराँत सुनुवार फोल स्यादर,किराँत याक्खा=चासुवा,किराँत थामी=भुमेपूजा) लगायतको पूजा आराधना अनुस्ठान गर्ने गरिन्छ ।
किराँतीहरुले उभौली-उधौलीलाई जे-जे नाम दिएर मनाएपनि सारमा प्रकृतिसँगको सामिप्यता र आध्यामिक सर्वशक्तिमान आराध्यदेव, भूमिदेवको प्रतिबिम्बको रुपमा नै साकेला पुजेको देखिन्छ ।किराँतीहरुको मुन्दुम दर्शनअनुसार किराँती समाज (Naturalism–प्रकृतिवाद) र (Animism–आत्मवाद)मा विश्वास राख्दछन् ।
त्यसैले किराँतीहरु प्रकृतिको पूजा र प्रकृतिमा रहेका सम्पूर्ण कुरामा आत्मा रहेको छ भन्ने मानेर त्यस्को पूजा गर्दछन् । किराँती समाज (Shamanism–नछुङवाद,माङपावाद)धामी-विजुवावादमा आधारित छ । यस साकेला, साक्खेवाको पूजा नछुङहरुले मुन्दुमी विधिबाट गर्दछन् र साकेला पूजासँग सम्बन्धित किराँत सभ्यता विकासको क्रममा प्रकृति, वन-जंगल, पशुपंक्षीसँगको किराँती पुर्खाहरुको अन्तरसम्बन्ध र जंगलीयुग, शिकारीयुग,कृषियुगमा किराँती पुर्खाहरुले गरेका श्रमसौन्दर्ययुक्त क्रियाकलापहरुलाई ढोल र झ्याम्टाको सांगीतिक तालमा विभिन्न साकेला–शिलीहरुद्वारा व्यक्त गर्दै आइरहेका छन् ।
अहिलेको किराँती समाजका युवा-पुस्ताहरुले उभौली-उधौली साकेलालाई व्यापक रुपमा रुचाएको भएपनि यसप्रतिको बुझाई सतहीमात्रै भएकोले साकेला–शिलीलाई केवल मनोरन्जन र नाचको रुपमा मात्र हेर्ने गरिएको पाइन्छ। तर साकेला–शिलीहरु सिर्फ नाच मात्र होइन, साकेला–शिलीहरु मुन्दुमी नछुङहरुले पुज्ने साकेला पूजासँग,मुन्दुमी संस्कृतिसँग र मुख्यतः किराँत सभ्यताको विकासको क्रममा पुर्खाहरुले भोगेको भोगाई अनुभव, ज्ञान, सीप, श्रमसँग र श्रमसौन्दर्ययुक्त क्रियाकलापहरु सँग सम्बन्धित छन् ।
किराँत मुन्दुमी दर्शन र उत्पतिको सुरुआत :-
किराँती समाज मौखिक श्रुति–परम्परामा आधारित मुन्दुमबाट निर्देशित छ। किराँत सभ्यता विकासको क्रममा हजारौं वर्षअघि देखिको किराँती पुर्खाहरुको भोगाई, अनुभव र ज्ञानको संगालो,दर्शन,दार्शनिक दृष्टिकोणलाई एक पुस्तादेखि अर्को पुस्ता हस्तान्तरण गर्दै जोगाएर ल्याएको श्रुति–परम्परामा आधारित मौखिकशास्त्र नै मुन्दुम हो । किराँतीहरुको मुन्दुममा सृष्टिको उत्पति,मानव सभ्यताको विकासको चरणहरु, प्रकृतिसँगको अन्तरसम्बन्ध,इतिहास, भूगोल,संस्कृतिको कुराहरु वर्णन गरिएको पाइन्छ। किराँत मुन्दुममा सृष्टिको उत्पति कसरी भयो, यो पृथ्वी, यो धर्ती, यो आकाश, जल, जमिनको उत्पति कसरी भयो, यो सृष्टिमा मानव उत्पति कसरी भयो, भनेर दार्शनिक दृष्टिकोणबाट वर्णन गरिएको पाइन्छ ।
किराँत मुन्दुम दर्शनअनुसार यो सृष्टिमा मानव उत्पति हुनुअगाडि सारा पृथ्वी जलाम्य अवस्थामा थियो । पृथ्वीमा कालान्तरसम्म आँधी–हुरी चलिरह्यो र आँधी–हुरीले उडाएर ल्याएको फोहोर पानीको भागमा जम्मा हुँदैगयो । त्यही फोहोरको डङ्गुरबाट उन्यू झारको विकास भयो । उन्यू झारको पातहरु खस्दै जाँदा त्यसको फेदमा थुप्रिएका पातहरु कुहिन थाले । त्यही कुहिएको उन्यूको थुप्रोबाट धमिराको उत्पति भयो । त्यही धमिराले उधिनेर माटोको उत्पति गरायो ।
त्यही माटोमा च्याउ उम्रन थाल्यो । च्याउ कुहिएर सड्दै गएपछि विभिन्न किसिमको किराहरुको उत्पति भयो । यसरी नै कालान्तरमा पहिलो मानवहरु:- (रिकापा छोरा र रिभेना छोरी) उत्पति भयो भन्ने मानिन्छ । त्यस्तै अर्को मतअनुसार सूर्य र चन्द्रमाको पारस्परिक आकर्षण शक्तिको कारण भूगर्भमा विर्य रह्यो र त्यही गर्भबाट उन्यूको उत्पति भयो ।
कालान्तरमा वासेपमा धमिराले ढिकुरा उठायो र त्यही ढिकुरा फुटेर (नाईमा र चिनिमा अथवा सुम्निमा-पारुहाङबाट) मानवको उत्पति भएको मुन्दुमी दर्शनअनुसार सृष्टिको उत्पति र मानव उत्पतिबारे दार्शनिक पक्ष रहेको छ । यसलाई गहिरिएर बुझ्ने हो भने यसमा अहिलेको आधुनिकयुगको विज्ञानसँगत कुराहरु छन् ।
साकेला सम्बन्धित मिथकहरु
१) साकेन्वा (साकेला) को अर्थ लगाउँदा सा= सायातालीधनुकाँण,केन= ढोल,झ्याम्टा,वा=पानी भन्ने हुन्छ जसको अर्थ ढोल झ्याम्टाको तालमा धनुकाँण पक्रेर पानी (जाँडले) छर्किन्दै आध्यात्मिक शक्तिसँग बल माग्ने प्रचलन भन्ने हुन्छ । यसरी नै साकेला,साक्खेवा पुज्दै आएको देखिन्छ ।
२) सुम्निमाको कान्छा छोराले नाकिमा (ईन्द्रेनी)की छोरीसँग विवाह गर्यो । नाकिमाले आफ्नी छोरी ज्वाईंलाई घर पठाउँदा एउटा चिण्डो, ढुंङ्गो र एक मुठी कोदो दिएर पठाइन् ।नाकिमाको छोरीले माईतबाट ल्याएको कोदोबाट जाँड बनाइन्। उक्त जाँडले माईतबाट ल्याएको ढुङ्गोलाई पर्छाउँदै पुज्न थालिन् ।त्यही समयबाट त्यही ढुङ्गा पुज्दै जाँदा साकेला(साक्खेवा) पुज्ने परम्पराको सुरुवात भएको हो।आज पनि साकेला थानमा त्यही ढुङ्गा पुरेर राखिएको विश्वास मानिन्छ।
३) सुम्निमाका सन्तानमध्ये जेठा छोरा बाघ र माहिला छोरा भालु (जनावर) भएकाले हुर्केपछि जंगलतिर पठाइए। कान्छा छोरा मानव हेन्कुमबुङलाई भने मानव समाजको निर्माण गरी रीतिथिति बनाई सञ्चालनका लागि शिलाढुंगा चिनो राखेर जिम्मेवारी दिएका थिए। यही शिलाढुंगा नै साकेलाको शिला हो।यसै समयबाट साकेलाको प्रारम्भ भएको हो।
४) किराँतीहरुको आदिम पुर्खाहरु दुई दिदीबहिनी तयामा र खियामा, भाइ हेत्छाकुप्पासँग छुट्टिन्छन् ।एकदिन भाइ हेत्छाकुप्पाको घरमा पहिले छुट्टिएका दिदीहरू तयामा र खियामा आइपुग्छन् ।सुरुवातमा भाइको घरमा तयामा, खियामा आउन असजिलो मानेपछि भकिम्लाको अमिलो झुप्पा राखीदिएपछि उनीहरू गर्भवतीसमेत भएकाले लोभले र्याल चुहाउँदै आँगनमा प्रवेश गर्छन् र खान थाल्छन् ।
उता घरभित्र हेत्छाकुप्पाले रिभ्यामा,पारुहाङ् नायिमा हुँदै पापा पातेसुङसम्मको मुन्दुम गाउँदै गर्दा शरीरमा जोड्ले कम्प पैदा हुनथाल्छ।हेत्छाकुप्पाले एक हातमा भाला लिएर घर बाहिर निस्कन्छन् र जमिनमा भाला गाडी एउटा तातो ढुंगा निकाल्छन् ।त्यसमा चोखो जाँड खन्याएपछि वाफ भएर उड्छ।त्यस ढुंगालाई भूमिदेव साकेला मानी पूजिन्छ र त्यही दिनदेखि साकेला भूमिदेवको पूजा र शिलीको शुरुवात भयो ।
त्यसरी धेरै वर्षसम्म छुट्टिएका दिदीभाइहरु भेट भएको खुशीमा ढोल,झ्याम्टा बजाउँदै दिदीहरूसँगै मिलेर साकेला स्थापना गरी मुन्दुमी विधि–विधान पूरा गरेर साकेला नाचेका थिए।त्यसपछि नै किराँत राईहरूले नियमित रूपमा साकेला पूजा गर्दै नाच्न थालेका हुन् भन्ने विश्वास छ।
६) किराँती पुर्खा हेन्कुमबुङले शिकारका क्रममा ढुकुर मारे। त्यसलाई घरमा ल्याएर मासुका रूपमा तयार गर्दा गाँडबाट गेडागुडी (कोदो, कागुनी, मकै लगायत) निस्कियो, जसलाई घरछेउ कतै फालिदिए।जुन गर्मीको समय लागेपछि उम्रियो र हुर्कंदै गएर फल दियो ।
चराले खाएको चिज मान्छेले खान हुन्छ भनेर उनले ती अन्न खान थाले। तर, त्यसले उनलाई राम्रो गरेन। उनले सपना देखे ।त्यो फल साकेला तथा पितृलाई चढाएर मात्र खान मिल्छ। त्यसपछि उनले साकेला र पितृलाई चढाएर खाँदा राम्रो भयो, त्यसपछि साकेला पुज्न थालिएको हो। यही समयबाट किराँत राईले कृषि जीवनमा प्रवेश गर्दै प्रकृति र पितृ पुज्नथालेको विश्वास गरिन्छ।
७) साकेला, हेत्छाकुप्पा र मुक्सिप्पा कोमाको पालादेखि नै प्रचलनमा आएको उल्लेख पाइन्छ।उनीहरुले साकेलालाई दैवीशक्तिको प्रतीकको रुपमा मानेर ढुङ्गाहरु ठड्याएका थिए।जसलाई मुन्दुम रिसिया गाउँदा सिसामलुङ,छान्मालुङ,लोङ्मालुङ,साक्खेवालुङ,साकेलालुङ भनेर पुकारिन्छ ।
किराँती पुर्खाहरुले साकेलालाई कृषि उत्पादन सम्बन्धित दैवी शक्तिको रुपमा पूजा गरेको पाइन्छ।जमिनमाथि फल्ने–फूल्ने अन्नबाली सबै साकेलाको इच्छाको विषयहरु हो।किनकि जमिनमुनी रहेका अन्नबालीको जराहरुमा साकेला/साक्खेवाको नियन्त्रण रहेको हुन्छ भन्ने विश्वास मानिन्छ।तसर्थ चासुमवो भेन दोत्मा (अन्नबालीको जरा माग्ने),खावावो भेन दोत्मा(अर्थको जरा माग्ने)गरिन्छ।
त्यस्तै लगाएको अन्नबालीको समयमा प्राकृतिक प्रकोप नआइदियोस्,प्राकृतिक प्रकोपबाट अन्नबालीको क्षति नहोस्,रोग व्याधी हटोस्,सम्पूर्ण पशुपंक्षी प्राणीहरुको आयु बढोस्, उनीहरूको रक्षा गरिदिनुहोस् भनेर साकेला पुज्ने प्रचलन चल्दै आएको हो ।
साकेला पुज्ने परम्पराको सुरुआत
किराँत सभ्यतामा मानिसहरुले साकेलालाई प्राचीनकालदेखि नै सर्वशक्तिमान आराध्यदेव,भूमिदेवको रुपमा मान्यता दिएर पुज्दै आएको देखिन्छ।किराँतीहरुले उभौली (दोङवाङा-धिरीनाम)वैशाखे पूर्णे र उधौली (दोङदावा-छिरीनाम) मंसिरे पूर्णेमा वर्षको दुईवटा किराँती ऋतुहरुमा साकेला पुज्ने गरिन्छ। प्राचीनकालमा मानव सभ्यता विकासको सुरुवातको क्रममा कुनै पनि किसिमको समय तिथि मितिको विकास भएको थिएन ।
त्यसकारण किराँती पुर्खाहरुले आफ्नो ज्ञान र चेतनाको आधारमा प्रकृतिमा भएका प्राकृतिक वनजंगल,रुखविरुवा वनस्पतिहरूमा आएको परिवर्तनलाई आधार मानेर र प्रकृतिमा रहेका पशुपन्छीहरुको क्रियाकलापलाई आधार मानेर दुईवटा किराँती ऋतुहरुको पहिचान गरे ।
उभौली(दोङवाङा-धिरीनाम) वैशाखे पूर्णेमा जब प्राकृतिक रुपमा गर्मियामको सुरुवात भयो र मौसम परिवर्तनसँगै प्रकृतिमा रहेको वनजंगल,रुखविरुवा वनस्पतिहरुले नयाँ पालुवा हाल्न सुरु गरे,हिमालको शिरदेखि बगेका नदी,खोलानालाहरुको माछाको कुरहरु, भेडाको बथानहरु तथा कर्याङकुरुङ जस्ता चराहरु उँभो-उँभो लेकतिर जान सुरु गर्ने समयलाई किराँती पुर्खाहरुले उभौलीको रुपमा माने ।
यस उभौलीको समयमा नयाँ अन्नबाली लगाएको, अन्नबालीलाई कुनै पनि किसिमको प्राकृतिक प्रकोपले क्षति नपुगोस्,अन्नबाली उत्पादन वृद्धि होस् भनेर मनुष्य जातिको रक्षार्थ साकेला पूजा गरेर बल शक्ति माग्ने गरिन्छ भने उधौली(दोङदावा-छिरीनाम)मंसिरे पूर्णेमा जब प्राकृतिक रुपमा मौसम चिसो बढ्न थाल्दछउभौलीमा पलाएका प्राकृतिक वनजंगल रुखविरुवा वनस्पतीहरुको नयाँ पालुवा,पातहरु विस्तारै झर्न थाल्दछन् अनि हिमाली भेग माथिमाथि लेकतिर गएको माछा तथा भेडाको बथानहरु र कर्याङकुरुङ जस्ता चराहरु बेसीतिर उँधोउँधो झर्न सुरु गर्ने समयलाई किराँती पुर्खाहरुले उधौलीको रुपमा माने।
यस उधौलीको समयमा खेतबारीमा लगाएको अन्नबाली उठाएर भकारीमा थन्काएपश्चात अन्नबाली र सम्पूर्ण प्राणीलाई रक्षा गरी यो अवस्थामा ल्याइपुर्याएकोमा प्रकृति अनिभूमिदेवी साकेलालाई धन्यवाद सम्मानस्वरुप साकेलाको पूजा गरिन्छ ।
साकेला/साक्खेवा पुज्ने विधि र नछुङ/नाक्छोङको साकेलाथान तिर प्रस्थान :-
किराँत राज्यको किराँतगाउँ बस्तीहरुमा धामी/नछुङहरुले आध्यात्मिक शक्तिबाट साकेलालुङ(साकेला ढुङ्गा) को प्राकृतिक रुपमा स्थल रहेको पत्ता लगाउने गर्दछन् ।साकेलालुङको प्राकृतिक स्थलबाट नछुङहरुले आध्यात्मिक शक्तिमा कम्पनको गति दिँदै मानव इच्छा क्षेत्रमा समेत स्थान्तरण गरेर साकेला थानको निर्माण गरिने संस्कारको विकास हुँदै गयो ।
किराँती समाजमा साकेला पुज्ने अघिल्लो दिन हेन्खामा (धर्ती) लाई खनजोत गरिँदैन।यसको अर्थ हेन्खामा नाशवान वस्तु हो।त्यसैले एकदिन मात्र भएपनि भूमि/धर्तीलाई फुर्सद दिएर भूमिलाई नष्ट हुनबाट जोगाउनु पर्दछ भन्ने मान्यता हो।किराँतीहरुले साकेला (भूमिदेव) पुज्नु अगाडि ४ प्रकारको माङहरु लाई अनिवार्य रूपमा होमे/बाखा/नछुङहरुले मुन्दुमी विधिपूर्वक पूजा गरिँदैआएको देखिन्छ।उक्त माङहरुको विधिसम्मत पूजा गरिसकेपछि मात्र साकेला नछुङले साकेला पुज्न सक्ने हैसियत प्राप्त गर्ने मान्यता रहेको छ ।
साकेला पुजेको दिन साकेला मातहतमा रहेका वापुटाङमाङ(पानीको मुल),नागनगेनी,सिमेभुमे(हुत्लुङ=अगेना)र रेत्कामाङहरु (आठ पितृआत्माहरु) सँग पनि शक्ति माग्दै पूजा आराधना गरिन्छ।ती सम्पूर्ण कार्य सम्पन्न भएपछि साकेला नछुङले आफ्नो घरबाट ढोल झ्याम्टाको आवाज दिई साकेलाको प्रारम्भ भएको जानकारी गराउँदछन्।
साकेला नछुङ/नाक्छोङ मुलधामीले साकेला स्थल जानुपूर्व मुख्यत:घरको चुलो सुप्तुलुङ(पितृ माङहरु)पुजेर बल शक्ति माग्ने गरिन्छ।यसरी घरको सुप्तुलुङ/माङपितृहरुसँग बिना बाधाअड्चन साकेला स्थलसम्म जान सक्ने शक्ति मागेर साकेला नाक्छोङले आध्यामिक शक्ति प्राप्त गरेपछि साकेला नाक्छोङ,नछुङ मुलधामीलाई नेतृत्व स्वरुप सांस्कृतिक आभूषणमा सुनाखरी(आम्लाबुङ)को पारी,पंक्षीहरुको प्वाँख (वासाङ) जडित शिरमा डोलोकोम (सेतो कपडाको पगरी/श्रिपेच) लगाइदिएपश्चात नछुङ/नाक्छोङ/मुलधामीले मुन्दुमी हतियारको रुपमा हातमा सोलोन्वा(चिण्डो)आरावा र अदुवा/बेच्छुक,लोत्लासा,सोलोन्वा राखिएको फोरु(ऐतिहासिक तरबार) र बायाँ हातमा सायाताली (सात आँखाको शिर उभ्याउने धनु) बोकी भेला भएका सम्पूर्ण बाखा,होमे,नछुङ,केन्छेरुवा,ढोले,झ्याम्टे,सिलिहाङ्मा(साकेला शिलीको अगुवाई गर्ने महिला),शिलीहाङ्पा=साकेला शिलीको अगुवाई गर्ने पुरुष)लगायत भेला भएका गाउँलेहरुको लावा लस्करसहित ढोल झ्याम्टा बजाउँदै नछुङ/नाक्छोङ/मुलधामीको अगुवाईमा साकेला थानतिर प्रस्थान गर्दछन् ।
साकेला नछुङले साकेलाथानसम्म जाने उक्त भेला भएका लावालस्करको लागि उच्च मनोबल रहिरहोस् भनेर आफ्नो चुलामा लावा (सातो)माग्दै आध्यात्मिक सुरक्षा प्रदान गरेर लगेको हुन्छ।साकेला थानमा पुगेपश्चात आध्यामिक शक्तिद्वारा मुन्दुम गाउँदै शक्तिको प्रतीक (साकेला लुङ) पूजा गर्दै बल-शक्ति माग्ने गर्दछन्।
उभौलीको समयमा अन्नबालीको उत्पादनमा वृद्धि होस्, किराफट्याङ्ग्रा र वन्यजन्तुहरुको नोक्सानीबाट संरक्षण गरिदिनु,प्राकृतिक प्रकोपबाट अन्नबाली र मानव जिउधनको सुरक्षा गरिदिनु भनेर आग्रह गर्दै बल शक्ति माग्दै चोखो पवित्र कुराहरु अदुवा,मर्चा,चोखो जाँड,आरावा,तोत्ला(मृगको मासु,गाईको मासु,गोरुको मासु,माछा,पाहा,बँदेलको मासु) लगायत विभिन्न वस्तुहरु चढाउने गरेको पाइन्छ।
उता उपस्थित बाखा होमे,नछुङहरु शिलीहाङ्मा,सिलिहाङ्मासहितको सहभागीहरुले ढोल र झ्याम्टाको उत्साहजनक तालमा नाच्दै गाउँदै शिलीहाङ्मा र शिलीहाङ्पाको नेतृत्वमा विभिन्न साकेला शिलीहरुको प्रस्तुतिसहितको मुन्दुमी विधिगत ढंगले साकेलाको शुभारम्भ सुरुवात र त्यसरी नै विधिगत ढंगबाट अन्त्य हुनेगर्दछ।
साकेला शिलीका प्रकारहरू:-
साकेलामा प्रस्तुत गर्ने शिलीहरु कुनै नृत्य वा नाच मात्र होइनन् । शिलीहरु साकेला/साक्खेवा संस्कृति सम्बद्ध छन्।किराँत सभ्यता विकासको क्रममा पुर्खाहरुले प्रकृतिमा देखेका, भोगेका भोगाई अनुभव ज्ञान र सीप श्रमहरुलाई साकेला सम्बद्ध श्रमसौन्दर्ययुक्त क्रियाकलापहरुमा शिलीहरु प्रस्तुत गरिएको हुन्छ।यस्ता साकेला शिलीहरु लाई (शिलीहाङ्पा र शिलीहाङ्मा)को नेतृत्वमा प्रस्तुत गर्ने गरिन्छ।किराँतीहरुमा विभिन्न भाषा,पाछा,क्षेत्र,खोला नालाहरु अनुसार साकेला शिलीहरु विविधता पूर्ण रहेको पाइन्छ।किराँतीहरुले विविघतापूर्वक साकेला शिलीहरु प्रस्तुत गरेका संख्याहरु मध्ये कतै १८४,१५०,१३५ १०७ र ११२ प्रकारको शिलीहरु रहेको मान्यता देखिन्छ।त्यसमध्येको केही साकेला शिलीहरु यस प्रकार छन्–
पारुहाङ-सुम्निमा शिली(आध्यामिक शिली)
आप्तारुङ शिली
खारु शिली
तयामा खियामा शिली= कपास छरेदेखि तान बुनेर कपडा ओढिन्जेलसम्म
चासुंग शिली= अन्नबालीको बीउ छर्नेदेखि भित्र्याउनेसम्म
बोखामा शिली = पृथ्वीलाई ढोग्ने शिली
कोकोले शिली = छेपारोको अनुकरण
खासिमा शिली = झिंङ्गाको अनुकरण
फुइपा शिली =बाँदरको अनुकरण
वापा वाम्मा शिली = कुखुराको भाले पोथीको अनुकरण
क्रावा शिली = गंङ्गटाको अनुकरण
कुप्पामा शिली = उपियाँको अनुकरण इत्यादि ।
आप्तारुङ शिलीको प्रारम्भ र अन्त्य :-
१)फाक्लेवा शिली (बाटोहरुमा आइपर्ने समस्याहरु खुट्टाले नृत्यद्वारा फाँड्दै पन्छाउँदै अघि बढ्ने।
२)पासो थापेको ३)ढुकुरको गाँण फोडेको ४)अन्न निकालेको ५)ढुकुर पोलेको ६)मासु काटेको ७)भाँडो बसालेको ८)पकाएको ९) भाँडो उतारेको १०)पस्केको ११) हात धोएको १२)खाएको १३) हात चुठेको १४) पेट अघाएको १५)खुशी भएको
खारु शिली प्रारम्भ र अन्त्य :-
१) फाक्लेवा शिली २) खोरिया वा भस्मे फाँड्ने ३) कोदालो बोक्ने ४) व्याड खन्ने ५) खेत खन्ने ६) आली ताछ्ने ७) आली लगाउने ८) आली चिल्लाउने ९) ठेउरी लगाउने १०) बीउ छर्ने ११) बेर्ना उखेल्ने १२) बेर्ना पछार्ने १३) बेर्ना मुठो पार्ने १४) खेत खन्ने १५) आली काट्ने १६) आली लगाउने १७) आली चिल्लाउने १८) ठेउरी लगाउने १९) बेर्ना पाँज्ने २०) धान रोप्ने २१) धान गोड्ने ) २२) धान काट्ने २३) आलीमा पाँजो सुकाऊने २४) बिटा लगाउने २५)बिटा बोक्ने २६)झाँट्ने २७) रासी चुलाउने २८) जाली हान्ने २९) भुस बत्ताउने ३०) राशी ठहराउने ३१) अन्न भर्ने ३२) बोकेर घरभित्र हुल्ने ३३) भकारीमा भण्डारण गर्ने ३४) भकारीदेखि धान निकाल्ने ३५) बिस्कुन लगाउने ३६) ढिकीमा लैजाने ३७) ढिकीमा कुट्ने ३८) चामल निफन्ने ३९)चामल केलाउने ४०) पोल्टामा लगाउने ४१) चामल चपाउने ४२) बोकेर लैजाने ४३)आगो फुक्ने ४४) चामल चलाउने ४५) भाँडोमा लगाउने ४६) भाँडो बसाल्ने ४७) भात चलाउने ४८) भात जाँच्ने ४९) भाँडो उतार्ने ५०) हात धुने ५१) भात पस्कने ५२) खाने ५३) हात धुने ५४) अघाएको अनुभूति गर्ने ५५) दाँत कोट्याउने ५६) रमाउने ५७) हाट बजार जाने
सिकी शिलीको प्रारम्भ र अन्त्य :-
१) फाक्लेवा शिली २) भस्मे/खोरिया फाड्ने ३) भस्मे खन्ने ४) कपासको बीउ छर्ने ५) कपास टिप्ने ६) ऐटामा लगाउने ७) पिरी बनाउने ८) चर्खा कात्ने ९) धागो डल्लाउने १०) फिर्के धागो बनाउने ११) डाकथुप्पा गाड्ने १२) घागोको तान लगाउने १३) वयाङसुङ राख्ने १४) तान उठाउने १५) रसिमा घागो काट्ने १६) लोलोक्पा टिप्ने १७) तान फिँजाउने १८) थाँक्रोले कोर्ने १९) टुकी धागो बनाउने २०) टुकी धागोलालाई थुरीमा लाउने २१) बयाङसुङ फिट्ने २२) खुट्टाले तान उधारी थुरी हान्ने २३) जुवा तान्ने २४) कपडा बुन्ने २५) कपडा नाप्ने २६) कपडा च्यात्ने २७) कपडा काट्ने २८) कपडा सिलाउने २९) चोलिया ओढ्ने ३०) तुना मार्ने ३१) लुङ्गी फिट्ने ३२) कपाल कन्याउने ३३) जुम्रा मार्ने ३४) केश फुकाउने ३५) केश बाट्ने ३६) केश चिल्लाउने ३७) टिका लगाउने ३८) फुल सिउरीने ३९) कानमा सुन लगाउने ४०) ढुङ्ग्री लगाउने ४१) बुलाकी लगाउने ४२) चुरा लगाउने ४३) खुट्टामा कल्ली लगाउने ४४) फूल टिप्ने ४५) सुगन्ध लिने ४६) शिरमा शिउरीने ४७) सेवा नमस्कार गर्ने ।
यस्ता विभिन्न प्रकारको साकेला /साक्खेवा शिलीहरु भाषागत/पाछा खोला नाला र भौगोलिक रुपमा विविधतापूर्ण साकेला शिलीहरुको प्रस्तुति गरिन्छ।
वर्तमान अवस्थामा साकेला शिलीहरु लोपन्मुख अवस्थामा छन:-
किराँतीहरुको भूमिदेव/आराध्यदेव साकेला/साक्खेवासँग सम्बद्ध साकेला शिलीहरु भाषिक रुपमा,भौगोलिक रुपमा विविधतापूर्ण साकेला शिलीहरु रहेको छ।आजभोली साकेला शिलीका प्रतिस्पर्धात्मक कार्यक्रमहरु आयोजना हुनेगर्दछ।तर साकेला शिलीको प्रतिस्पर्धात्मक कार्यक्रमहरु गर्दा सीमित शिलीहरुलाई मात्र समावेश गर्ने गरेको कारण विभिन्न भाषिक र खोलानालामा रहेका साकेला शिलीहरु लोपन्मुख हुँदै गइरहेका छन् ।
हामी किराँतीहरुले किराँत सभ्यता र भूमिदेव साकेलासँग सम्बद्ध सम्पूर्ण साकेला शिलीहरुलाई समान ढंगले लिएर संरक्षण प्रवर्द्धन गर्नुपर्दछ,जोगाउन पहल गर्नुपर्दछ।कतिपय आध्यात्मिक शक्तिसँग सम्बन्धित शिलीहरु सुम्निमा पारुहाङ शिली,पंक्षी शिलीहरु, कराङकुरुङ शिली र नारा शिलीहरु विधि पुर्याएर शिली नाच्न सकिएन भने आयु घट्ने मान्यताको कारण लोप भएर जाने अवस्थामा छन्।
हामीले त्यस्ता शिलीहरु संरक्षण गर्न र जोगाउन नयाँ पुस्ताहरुलाई यस्ता लोपोन्मुख शिलीहरु सिक्ने सिकाउने पहल गर्न आवश्यक छ।त्यस्तै किराँत राईहरुको सबै भाषिक र भौगोलिक क्षेत्रमा रहेका साकेला शिलीहरुको अलावा किराँत राईहरुको संस्कृति विविधतापूर्ण छ।जस्तै अरुण उपत्यकामा बस्ने किराँतीहरु जस्तै आठपहरिया/छिलिङ/याम्फु/मेवाहाङलगायतको किराँत राईहरु कतिपयले मुख्यत:-च्याब्रुङ/ढोलनाच नाच्ने गर्दछन्,वाढाङ्पित/पापानी मनाउँछन्,नाच्ने गर्दछन्।
त्यस्तै ओखलढुङ्गा/सोलुखम्बुतिरको वायुङ/खालिङ राईहरु सेग्रो/हङशिली नाच्दछन्।त्यस्तै वाम्बुले राईहरू ढवाङकुमो चाडहरुमा नाचिने नाच र खाउमो शिलीहरु नाच्छन् । त्यस्तैकुलुङहरुको चाकचाचुर चाडमा नाच्ने शिलीहरु लगायत सबै भाषिक र क्षेत्रगत सांस्कृतिक विविधता चाड र शिलीहरु पनि संरक्षण गर्नु आवश्यक छ।हामीले उभौली साकेलामा सीमित शिली प्रतिस्पर्धा गराउने मात्र नगरेर सम्पूर्ण भाषिक र भौगोलिक क्षेत्रको शिलीहरु,चाडपर्वहरुमा नाचिने शिलीहरु समान रुपमा संरक्षण गर्नु आवश्यक छ।
अन्तिम निष्कर्ष:-
नेपालको सबैभन्दा प्राचीन किराँत सभ्यतासँग सम्बन्धित उभौली-उधौली साकेला नेपालकै सबैभन्दा प्राचीन र मौलिक सांस्कृतिक चाड हो।हामीले किराँतीहरुको महान चाड उभौली–उधौली साकेलालाई पनि कसरी नेपालको अन्य चाड दशैँ-तिहार जस्तै तामझाम र रमझमको साथ मनाउन सकिन्छ भन्नेतिर ध्यान दिन जरुरी छ।हामीले उभौली–उधौली साकेला चाडलाई तामझाम र बृहत रुपमा स्थापित गर्न सक्यौं भने अरुको चाड बहिस्कार गरिरहनै पर्दैन ।
किराँतीहरुले आफ्नै मौलिक सांस्कृतिक चाडहरुमा रमाउन, मनाउन सुरु गर्नेछौं ।किराँतीहरुको उधौली–उभौली साकेला चाड आजसम्म साकेला पुज्ने,साकेला शिली नाच्ने,शुभकामना आदानप्रदान गर्ने सांस्कृतिक रुपमा स्थापित भएको छ।यसको अलावा हामीले यस उभौली साकेला चाडलाई कसरी रमझम,तामझामको साथ अझ रमाइलोसँगले उभौली-उधौली साकेला चाड मनाउन सकिन्छहोला भन्ने विषयमा यसरी केही विकल्पहरु अपनाएर अघि बढ्नुपर्दछ भन्ने मेरो मान्यता रहेको छ।
१) उधौली- उभौली साकेला चाडमा सबैभन्दा बढी महत्व साकेला पुज्ने/शिली नाच्ने संस्कृतिलाई नै दिनु आवश्यक छ।किराँती बस्तीहरुमा सामूहिक रुपमा साकेला पुज्ने/शिली नाच्ने परम्परालाई अझ व्यापक रुपमा निरन्तरता दिँदै जाने।आजभोली शिली प्रतिस्पर्धा कार्यक्रमले व्यापक रुप लिँदै आएको छ तर शिली प्रतिस्पर्धा मात्र नभएर कतिपय लोप भएर जान लागेको लोपोन्मुख शिलीहरु खोजी-खोजी शिली सिक्ने र शिली प्रदर्शनमा ल्याउने।
२) उधौली- उभौली साकेला चाडमा पनि आफ्नो कोमा कोमा, आमा-बुवा लगायत आफूभन्दा ठूलो अग्रजको हातबाट आशीर्वाद लिने,टिका लगाउने,दक्षिणा लिने,चेली-माईतीबीच आत्मियता बढाउन भेटघाट गर्ने, उपहार साटासाट गर्ने लगायतको परम्पराको सुरुवात गर्ने।
३) उधौली–उभौली साकेला चाडमा पनि किराँती गाउँ बस्ती बस्तीमा घरहरु लिपपोत गर्ने,रंग लगाउने,रंगीचङ्गी बनाऊने,बाटोघाटो गाउँघर,कुवाधारा सर-सफाई गर्ने,लिङ्गे पिङ गाड्ने,रोटे पिङ बनाउने, पिङ खेल्ने,रमाइलो गर्ने परम्पराको सुरुवात गर्ने।
४) उधौली–उभौली साकेला चाडमा घरको केटाकेटीहरुलाई नयाँ नयाँ लुगा-कपडा जुत्ता किनिदिने,चङ्गा उडाउने, चङ्गा किनिदिने,पटाका पड्काउन पटाका किनिदिने परम्पराको विकास गर्ने।
५) उभौली साकेला चाडमा पनि महिला छेत्कुमा चेली-बेटीहरुलाई नयाँ सांस्कृतिक पोसाकहरु,सारीहरु,गर-गहना किनिदिने।किराँतीमहिलाहरुलाई नयाँ किराँती पोसाक लाएर साकेला शिली नाच्ने, लगायत नाचगान कार्यक्रम गर्ने व्यवस्था गर्ने ।
६) उभौली साकेला चाडमा पनि मेला बजारको व्यवस्था गर्ने । आफ्नो आफन्त साथीभाइ ईष्ट–मित्रबीच भेटघाट गर्ने,घर-घरमा बोलाउने, मीठा मीठा परिकार र खानपानको व्यवस्था गर्ने,देउसी भैलो जस्तो ढोल झ्याम्टा बजाएर नाचगान कार्यक्रम गर्ने,नेपालको चर्चित कलाकारहरु बोलाएर सांगीतिक कार्यक्रम,नाचगान,कन्सर्ट कार्यक्रमहरु आयोजना गर्ने।
यी माथिका बुँदाहरु किराँतीहरुको उधौली-उभौली साकेला चाडलाई कसरी तामझामको साथ व्यापकरुपमा मनाउन सकिन्छ भन्ने मेरो नितान्तै व्यक्तिगत विचार हो।यसरी हामीले पनि हाम्रो चाडलाई नै तामझामको साथ मनाउन र स्थापित गर्न सकियो भने मात्र किराँतीहरु आफ्नै चाडमा रमाउन सक्लान्।तथापि यी सम्पूर्ण कुराहरुको अलावा उभौली साकेलाको सबैभन्दा बढी महत्व सांस्कृतिक पक्ष साकेला पुज्ने/शिली नाच्ने संस्कृतिलाई प्राथमिकता दिँदै जानुपर्दछ।
नेपालको सबैभन्दा प्राचीनकिराँत सभ्यताको मौलिक सांस्कृतिक चाड उधौली–उभौली साकेलालाई यसरी तामझामको साथ मनाउने परम्पराको विकास गरेर नेपाल र नेपालीहरुको राष्ट्रिय चाडको रुपमा स्थापित गराउनु पर्दछ।अत:उधौली–उभौली साकेलालाई नाचगान र मनोरन्जनको रुपमा मात्र होइनकिराँतीहरुको आराध्यदेव-भूमिदेव साकेला/साक्खेवा पुज्ने संस्कृति,साकेला पूजा सम्बद्ध शिलीहरु र किराँत सभ्यताको विकासको क्रममा किराँती पुर्खाहरुले आफ्नो भोगाई अनुभव ज्ञान,प्रकृतिसँगको अन्तरसम्बन्ध,प्रकृतिमा रहेका पशुपंक्षी चराचुरुङ्गीसँगको अन्तरसम्बन्ध, पुर्खाहरुले गरेको श्रम र श्रमसौन्दर्ययुक्त क्रियाकलापहरुलाई गहिरिएर बुझ्नुपर्दछ र मात्र उधौली–उभौली र साकेलाको अर्थ र महत्व बुझिनेछ । अनिकिराँती समाजमा साकेलाको अस्तित्व रहनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार