महिनामा एकपटक नुहाउँछु

  मदन राई  170 पटक हेरिएको


महिना दिनमा आज नुहाएँ । म कात्तिकदेखि फागुनसम्म एकपटक, चैतदेखि असोजसम्म सातामा एकपटक नुहाउँछु । पानी भिजाको रुमालले दिनैपिछे पसिना पुच्छु । म दिनैपिछे पसिना निकाल्छु ।

सातामा एकपटक कपडा फेर्छु । भित्री कपडा भेस्ट र कट्टु दिनैपिछे फेर्छु । सातामा एकपटक कपडा धुन विद्यार्थीले सघाउँछन् ।

म दिनमा १० देखि २० पटक हात धुन्छु । दाँत तीन–चारपटक सफा गर्छु । म दाँत खिइन्छ भनेर घोट्दिनँ । धेरै पछि थाहा पाएको हुँ ।

म दैनिक १०/१२ गिलास तातोपानी पिउँछु । बिहान उठ्नासाथ दुई र राति सुत्ने बेला एक/दुई गिलास पानी पिउँछु । २४ घन्टामा सात/आठपटक पिसाब गर्छु । राति एक÷दुईपटक उठेर पिसाब गर्छु । दैनिक १.५–२ लिटर पिसाब निस्कन्छ । एक–दुई दिनमा ३००–५०० ग्राम दिसा निस्कन्छ । बिहान ७–९ बजे खाजा, दिउँसो १२–१ बजे भात, बेलुकी ६–८ बजे खाना खान्छु । खोले, दालभात, तरकारी, दही, मासुको झोल असाध्यै मन पर्छ । ओखर र मौसमी फल खान्छु । कहिलेकाहीं सुत्ने बेला एक/दुई घुट्की रक्सी पिउँछु ।

राति सातदेखि नौ घन्टा सुत्छु । निद्रा मज्जाले लाग्छ । समय हुँदा दिउँसो एक/दुई घन्टा सुत्ने गरेको छु ।

बिहान र बेलुकी हिँड्न निस्कन्छु । तीनदेखि १० किलोमिटर हिँडेर पसिना बगाउँछु । शुभम फाउन्डेसनको सयौं रोपनीमा घुम्दा काम पनि हुन्छ ।

मलाई दैनिकजसो अरूभन्दा थोरै पानी चाहिन्छ । खाना पकाउन पाँचदेखि १०, भाँडा धुन १० देखि १५, हात धुन १० देखि १५, लुगा धुन सातामा ७० देखि १४०, दैनिक १० देखि २० लिटर पानी खर्च हुन्छ । म बाल्टिनमा दिसा, पिसाब गर्ने भएकाले फ्लस गर्न पानी चाहिँदैन । म वर्षमा ७०० लिटर पिसाब र १०० किलो दिसाको मल बनाएर खेतबारीमा हाल्छु । लुगा, भाँडा, हात धोएको, नुहाएको फोहोर पानी खेतबारीमा झोल मलका रूपमा हाल्छु ।
हिजोआज म लुगा किन्दिनँ । पुरानो लुगा लगाउँछु । छोराबुहारीले उपहार दिन्छन् । अरूले दान गरेको पुरानो लुगा सफा र मर्मत गरेर विद्यार्थीसँग सेयर गर्छौं ।

मेरो खर्च अति कम भएको छ । कुनै रोग छैन । गल्तीले मधुमेह भएको थियो । चिराइतो र हिँडाइले ठीक राख्दै छु । कहिलेकाहीं मधुमेह बढिहाल्यो भने ओखती राखेको छु । मलगायत हामी शुभमका दुई सयजनाले निरोगी हुन ७ ‘ता’ अभ्यास गर्छौं ।

७ ‘ता’ भनेको (१) ताजा हावा, (२) तातोपानी, (३) तातो लुगा, (४) तातो दाना, (५) तातो घाम, (६) तागतिलो काम (खेतबारीमा पसिना निकाल्ने) र (७) तातो ओछ्यान । ७ ‘ता’ले तीन वर्षदेखि हामीमध्ये कोही पनि अस्पताल जानुपरेको छैन । म ७४ वर्षमा पनि बिन्दास जिन्दगी बिताइरहेको छु ।

(तुवाचुङ डटकमबाट ।)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार