कतारमा नेपालीले स्थापना गरेको सामाजिक संघ संस्था ११० भन्दा बढीे छन् । उल्लिखित संस्थामा ३ हजार ८५० जनाभन्दा बढी समितिका पदाधिकारी तथा सदस्य रहेका छन् । तीमध्ये सबैले आफूसम्बद्ध संस्थालाई लेभी बुझाउँदै आएका छन् ।
हो, ११० मध्येबाट प्रत्येक शुक्रबार १० देखि १२ वटासम्म कार्यक्रम आयोजना गरिन्छन् । सो कार्यक्रममा नहुँदा पनि ५०÷६० हजार कतारी रियाल खर्च हुन्छ । खर्च गरिएको रुपैयाँ भनेको सम्बन्धित संस्थासम्बद्ध पदाधिकारी तथा सदस्यको मात्रै नभएर ऊसँग आश्रित परिवारको गाँस काटेर खर्च भइरहेको हुन्छ । यो त अति नै भएन र ?
अब भन्नूस् त, नेपालीे दाजुभाइ तथा दिदीबहिनीहरू । हामीमध्ये अधिकांश १ हजार रियाल तलबमा कतार कार्यरत छौं । त्यही तलबबाट कतारमा आफू र नेपालमा आश्रित परिवारसम्मको खर्च धान्नुपर्ने हुन्छ । यही तलबबाट संस्थामा लेभी बुझाउने र संस्थाले गरेको कार्यक्रम सफल बनाउन हिँडडुल गर्नुपर्छ । हामी यसरी फुक्काफाल संस्थामा लाग्दै गर्दा सामाजिक काम र सामाजिक सन्देश त प्रवाह होला तर हामीले व्यर्थमै पसिनाको कमाइ पो खेर फालिरहेका छौं कि ? एकपटक चिन्तन गर्न ढिला भइसक्यो कि ?
यही पैसा बचत गरेर घरपरिवार (नेपाल) पठाउन सके देशको अर्थतन्त्रमा ठूलो टेवा पुग्नेछ । हामीले लगानी गरेबापत हामीले नै रोजगारी सिर्जना गर्न सक्नेछौं । हामी आफैं बेरोजगारी बस्न पर्ने थिएन । पुनः वैदेशिक रोजगारीमा आउन बाध्य हँुदैनथ्यो । संघ संगठनको नाममा हामीले गरेको फजुल खर्च उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सके आम्दानीमा परिणत पक्कै हुनेछ ।
हामी नेपाली बाध्यताले कतारमा छौं । आफू र आफ्नो परिवारका निम्ति कतारलाई वैदेशिक रोजगारीको गन्तव्य बनाएका छौं । कतारमा बसेर हजारौंले लोभलाग्दो आयआर्जन गरेकै छन् । जीवनशैली उकासेका छन् ।
कतारमा रहेका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरू सामाजिक कामको मोहमा फसेका छन् । सामाजिक काम गर्नु नराम्रो होइन । तर, कतारको यस्तो माहोल हेर्दा नेपालका विभिन्न जिल्लाबाट कतार आइपुगेकाले जिल्ला, जातीय, प्रदेशस्तरीय संघ संस्था स्थापना गरी सामाजिक काम गर्ने होडबाजी चलेको देख्छौं । कसले कस्तो कार्यक्रम गर्ने ? ऊभन्दा हामीले राम्रो कार्यक्रम कसरी गर्ने ? भन्दाभन्दै हामी नेपाली श्रमजीवी रित्तिँदै गएका छौं । यो तीतो यथार्थ हो ।
नेपाली–नेपालीबीच अस्वस्थ प्रतिस्पर्धा गर्ने बानी मौलाउँदै गएको छ । एकलाई तल पारेर आफू उकासिन खोज्ने प्रवृत्ति हाबी हुँदै गएको छ । मै हुँ भनेर बहादुरी देखाउन खोज्ने प्रवृत्तिले कसैलाई उकालो लगाउँदैन । यसको दूरगामी असर कतारमा भयंकर देखिन्छ । कतारमा बढ्दै गएको देखासिकीकै भरमा एउटा संस्थाप्रति वितृष्णा बढ्दै गएपछि स्वार्थपूर्तिका लागि समानान्तर संस्था गठन गर्नसमेत पछि परेको देखिँदैन । हामीले परदेशमा आफ्नो महिनावारी तलब संस्थाका नाममा खर्चेर अरूलाई देखाउने बहानामा आफैं जोगी त बन्दै छैनौं । बेलैमा सोचौं ।