कर्निसमा नेपाली नयाँ वर्ष मनाइँदै

  गजेन्द्र खालिङ राई  209 पटक हेरिएको

दोहा (कतार) । नेपालबाट आमन्त्रित गायिका मेलिना राईसहित चारजना कलाकार र स्थानीय कलाकारको साथमा नेपाली नयाँ वर्ष २०८० सांस्कृतिक कार्यक्रम दोहाको कर्निसमा हुने भएको छ ।

कतारको पर्यटकीय स्थल ‘फ्ल्याग प्याजा कर्निस’मा स्थानीय समयअनुसार अपराह्न ४ देखि राति १० बजेसम्म सांस्कृतिक कार्यक्रम हुने एनआरएनए कतार अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको समन्वय र कतारमा स्थापित विभिन्न संघ संस्थाको सामूहिक आयोजनामा सांस्कृतिक कार्यक्रम हुन लागेकोे नज्मामा रहेको ओल्ड दरबार नेपाली रेस्टुरेन्टको सभाहलमा भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

एनसीसी कतार र अन्य संस्थाको समन्वयमा सालिन्दा नेपाली नयाँ वर्ष मनाउँदै आएको अध्यक्ष मुसलमानले जानकारी गराए । विगतमा सीमित ठाउँमा सांस्कृतिक कार्यक्रम आयोजना गरिन्थ्यो । यसपटक भने विशेष कार्यक्रम बनेको र पहिलोपटक नेपाली समुदायले कतारको पर्यटकीय स्थलमा खुला कार्यक्रम गर्न पाउनु सौभाग्य भएको उनले बताए ।

यसैगरी, अन्य देशका समुदायले कतारका पर्यटकीय स्थलमा कार्यक्रम गर्ने चाहनाअनुरूप नेपाली समुदायको वृहत् नयाँ वर्ष कार्यक्रमका लागि प्रस्तावनापत्र कतार पेस गरी मिनिस्टरबाट स्वीकृति लिइएको छ । यो कार्यक्रम एनसीसीको मात्र नभएर दोहामा रहेका सबै संस्थाको कार्यक्रम हो । यहाँ गरिने कार्यक्रमले नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेछ ।

फ्ल्याग प्याजा कतारको मुटुमा रहेको ठाँउ हो । यहाँ कार्यक्रम गर्दा जुन कुनै टीभी च्यानलमा प्रसारण हुनेछ । यो ठाउँ सामाजिक सञ्जालमा समेत निकै चर्चित रहेको छ । कार्यक्रम संयोजकका रूपमा उत्तम गुरुङ र सहसंयोजक रोशन अर्याल, कार्यक्रम व्यवस्थापक कृष्ण पन्थी, मिडिया संयोजक दीपजंग शाह र कलाकार संयोजक सामुयल सुनुवारलाई जिम्मेवारी तोकिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार