कतारका पहिचानवादीमा आह्वान

  गजेन्द्र खालिङ राई  336 पटक हेरिएको


आदरणीय कतारवासी पहिचानवादी, बुद्धिजीवी, समाजसेवी दाजुभाइ, दिदीबहिनीलगायत सम्पूर्णमा अभिवादन ।

पृथ्वीनारायण शाहले राज्य एकीकरण गरेपश्चात् धेरै विद्रोही आन्दोलन र दसवर्षे सशस्त्र युद्धसमेत भयो । अहिले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । यसबीचमा हजारौंले बलिदान दिई सहिद भएका छन् ।

संघीय लोकतान्त्र, गणतन्त्र, धर्मनिरपेक्ष भएसँगै आफ्नो जाति, भूगोल र सभ्यताका आधारमा प्रदेशको नामकरण गनुपर्ने थियो भलै त्यो प्रदेश २ ले मात्र प्राप्त गर्यो भने अन्य ६ वटा प्रदेशले पाउन सकेन । यसै सन्दर्भमा प्रदेश १ मा बाँकी रहँदै हाल पहिचानको ठीक विपरीत कोसी नाम राखियो । तर, त्यहाँ पहिचानवादीले निकै लामो समयदेखि पहिचानको अडान राख्दै गर्दा, त्यहाँको जनताका भावना विपरीत छापामार शैलीमा नामकरण गरियो ।

प्रदेश १ अहिले आन्दोलित छ । जहाँ १७ फागुन २०७९ मा कोसी नामकरण गरेयता भने प्रहरीको कुटाइबाट एकजना पहिचानवादी नेता लाजेहाङ अर्थात् पदम लिम्बूले शहादत प्राप्त गरे । आन्दोलनकारीको चर्को विरोधपश्चात् सरकारले सहिद घोषणा गर्यो । आन्दोलनमा सहभागी धेरै घाइते भए । तर, पटक–पटक पहिचानवादीहरूले विभिन्न तवरले आन्दोलन गर्दै आएका र खबरदारी गर्दै ज्ञापनपत्र बुझाउँदैसमे बुझाउन पछि परेका छैनन् ।

पहिचानवादीहरूको माग सम्बोधन गर्ने कुनै चेष्टा सरकारले नदेखाएको र उल्टै पहिचानवादीहरूको आन्दोलनलाई तुहाउन सरकार लागिपरेको छ । दुर्भाग्य हो कि के हो, सरकारमा पनि पहिचान बोकेका दल छन् । सडकमा पनि आन्दोलित पहिचानवादी छन् । यो शान्तिपूर्ण आन्दोलन गर्नसमेत सरकारले निषेध गरिरहेको छ । किरात राई प्रज्ञा परिषद्का प्राज्ञ सदस्य सांस्कृतिक अभियन्ता भद्रगोल किराती साथै अन्य पहिचानवादी नेताहरूलाई गिरफ्तार गरिरहेका छन् । संघीय गणतन्त्रमा प्रधानमन्त्री, राष्ट्रपति, मन्त्री र नेताहरूलाई कालो झन्डा देखाउन र शान्तिपूर्ण आन्दोलन गर्न पाइन्छ । तर, यहाँ पञ्चायती राणा शासन लागू गरिरहेका छन् ।

तसर्थ, सम्पूर्ण पहिचानवादी साथीहरूलाई म विनम्रतासाथ अनुरोध गर्दछु कि यो अहिलेको लडाइँ पूर्वका राई÷लिम्बूको मात्र होइन । यसरी नबुझिदिनुहुन अनुरोध गर्दछु । यो लडाइँ भनेको पूर्वदेखि पश्चिम, हिमालदेखि तराईसम्मका सातै प्रदेशवासी पहिचानवादीहरूको हो । त्यसैले हाम्रो इतिहास र पहिचान प्राप्त गर्नका लागि तत्काल १ नम्बर प्रदेश केन्द्रित हुनु छ । त्यसैले प्रहिचान प्राप्त गर्न, ढोका खोल्न अब १ नम्बर प्रदेशमा मात्र सम्भावना रहेको हुँदा सम्पूर्ण पहिचानवादी शक्तिको एकता आवश्यक रहेकाले तत्काल हामीले पनि प्रवास (कतार)देखि पहिचान प्राप्त गर्नका निम्ति केही न केही भूमिका खेल्नुपर्ने भएको छ । विशेष छलफल गरी निष्कर्षमा पुग्नैपर्छ । १ नम्बर प्रदेशको नामकरण किरात प्रदेश गर्नका लागि कतारमा रहेका पहिचानवादी नेपालीले सक्दो सहयोग गर्न अपिल गर्छु ।

जय पहिचान

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार